Logo

२७ वैशाख, माडी । राप्ती नदीको पुल तरेसँगै सुरु हुने चितवन राष्ट्रिय निकुञ्ज भित्रको यात्रा अहिले पनि माडीबासीका लागि सहज छैन। पुलदेखि करिब चार किलोमिटर दूरीमा पर्ने धुर्व पोस्ट पार गरेपछि झन्डै पाँच किलोमिटर जंगलभित्रको बाटो हुँदै रिउ नदी पार गरेपछि मात्रै माडी क्षेत्र प्रवेश हुन्छ। तर, देशकै चर्चित पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण निकुञ्जभित्रको यो हुलाकी सडक अझै साँघुरो, धुलाम्मे र असुरक्षित ग्राभेलमै सीमित छ।

वि.सं. २०३० सालमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको यस क्षेत्रमा त्यसअघि नै मानव बस्ती रहेको पाइन्छ। दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ, हात्ती, हरिण, मृग, चितुवा, भालु, बँदेल, गौरीगाइ,मगर, घडियालसहित सयौँ प्रजातिका वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान बनेको यही निकुञ्जलाई सन् १९८४ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो। प्राकृतिक दृष्टिले गौरवको विषय बनेको यही क्षेत्रका स्थानीय भने वर्षौँदेखि वन्यजन्तुको त्राससँगै जीवन बिताउन बाध्य छन् ।

माडी क्षेत्रमा जंगली जनावरले बाली नष्ट गर्ने, घरपालुवा पशु आक्रमण गर्ने तथा कहिलेकाहीँ मानिसमाथि समेत ज्यानै लिने घटना दोहोरिरहन्छन्। खेतीपाती, आवागमन र दैनिक जीवन नै जोखिमपूर्ण बन्दै गएको भन्दै स्थानीयले राज्यको ध्यानाकर्षण गराउँदै आएका छन् ।

चुनाव आउँदा भने माडीका समस्या नेताहरूका मुख्य भाषण बन्छन्। सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने, निकुञ्जभित्र कालोपत्रे सडक निर्माण गर्ने, आकाशे पुल बनाउने, रिउ करिडोरलाई आधुनिक बनाउने तथा “माडीलाई मणि बनाउने” जस्ता आश्वासन पटक–पटक दोहोरिन्छन् । त्यतिबेला स्थानीयमा आशा पलाउँछ-अब त विकास आउला, समस्या समाधान होला भन्ने । तर, विडम्बना के छ भने यही माडी क्षेत्रबाट सांसद, मन्त्री हुँदै प्रधानमन्त्रीसम्म बनेका नेताहरूले समेत दीर्घकालीन समाधान दिन सकेका छैनन् ।

माडीवासीहरू अहिले पनि एउटै माग दोहोर्याइरहेका छन्रि-उ करिडोरको बाटो आधुनिक प्रविधिसहित निर्माण हुनुपर्छ, निकुञ्जभित्रको सडक फराकिलो बनाएर कालोपत्रे गर्नुपर्छ। उनीहरू भन्छन्, “त्यति भए मात्रै सुरक्षित आवागमन सुनिश्चित हुन्छ, वन्यजन्तुको जोखिम कम हुन्छ, खेतीपाती र मानव बस्तीको सुरक्षा सम्भव हुन्छ र माडीको विकासले गति लिन सक्छ।”

धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको माडी क्षेत्र देवभूमि तथा तपोभूमिका रूपमा परिचित छ। यहाँ रहेका धार्मिक आस्था, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले देशकै महत्वपूर्ण क्षेत्रका रूपमा चिनाएको छ । तर, यही भूमि माथि आशा बोकेर बसेका नागरिकहरूको वास्तविकता भने अझै पीडादायी छ। वर्षौँदेखि त्रास, असुरक्षा र विकासको पर्खाइमै बाँचिरहेका माडीबासी अब भाषण होइन, व्यवहारिक र दीर्घकालीन समाधान चाहन्छन् । माडीको यही यथार्थले राज्यलाई अब गम्भीर बन्न बाध्य बनाएको छ ।


सम्बन्धित समाचार