२७ बैशाख, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरस्थित राम मन्दिर नजिकैको जंगलमा आइतबार तीन वटा शक्तिशाली ग्रिनेड फेला परेका छन् ।
केही समयअघि मात्रै अवैध घरटहरा र सुकुम्बासी बस्ती हटाइएको क्षेत्रभन्दा केही माथिको जंगलमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ऐतिहासिक र धार्मिक महत्त्वको संवेदनशील क्षेत्रमा विष्फोटक पदार्थ फेला परेपछि उक्त स्थानमा तत्कालै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी घेराबन्दी गरिएको थियो ।
जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार भेटिएका ती ग्रिनेडहरू पुराना हुन् । बस्ती हटाइएको स्थानको आसपासमै यस्ता जोखिमपूर्ण वस्तु फेला परेपछि सुरक्षा निकायले यसलाई गम्भीरतापूर्वक लिएको छ। यी ग्रिनेडहरू द्वन्द्वकालका हुन् वा पछिल्लो समय कसैले लुकाएर राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
अवैध टहराहरू भत्काइएको ठाउँको नजिकै ग्रिनेड भेटिनुले स्थानीयवासीमा केही समय त्रास फैलाए पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । सेनाको बम डिस्पोजल टोलीलाई खबर गरी ती विष्फोटक पदार्थ व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
पशुपति जस्तो संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै प्रहरीले उक्त क्षेत्रमा अन्य कुनै शंकास्पद वस्तु भए नभएको बारेमा थप सर्च अपरेसन समेत चलाएको छ ।

















