२२ बैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाको सडक यात्रा पछिल्लो समय युवा पुस्ताका लागि निकै जोखिमपूर्ण बन्दै गएको देखिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) को तथ्याङ्क अनुसार सडक दुर्घटनामा परी १७४ जनाले ज्यान गुमाएका छन् । त्रासदीपूर्ण कुरा के छ भने, मृत्यु हुनेमध्ये आधाभन्दा बढी संख्या युवाहरूको रहेको छ ।
कूल मृतक मध्ये ९३ जना ३५ वर्षमुनिका छन्, जसमा १६ देखि ३५ वर्ष उमेर समूहका ८६ जना र १७ वर्षमुनिका ७ बालबालिका रहेका छन्। बाँकी ८१ जना ३६ वर्षभन्दा माथिल्लो उमेरका रहेका छन् ।
प्रहरीको तथ्याङ्कले सडकमा पुरुषहरूको सुरक्षा झनै चुनौतीपूर्ण रहेको देखाएको छ । ज्यान गुमाउने १७४ जनामध्ये १३८ जना पुरुष, ३३ महिला र ३ बालबालिका छन्। यस अवधिमा उपत्यकामा मात्रै ४ हजार ६३१ वटा साना–ठुला दुर्घटनाहरू भएका छन् ।
यी दुर्घटनाहरूमा परी १८६ जनाले गम्भीर चोटपटक भोगेका छन् भने ४ हजार ९२७ जना सामान्य घाइते भएका छन् । तथ्याङ्कले हरेक महिना औषतमा १९ जनाभन्दा बढीले सडकमै प्राण त्याग गरिरहेको भयावह तस्बिर चित्रण गरेको छ ।
ट्राफिक प्रहरीका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटनाका मुख्य कारकहरूमा चालकको लापरबाही र मानवीय त्रुटि नै अग्रपंक्तिमा देखिएका छन् । विशेषगरी तीव्र गतिमा सवारी चलाउनु, मादक पदार्थ (मापासे) तथा लागूपदार्थ ९लापासे० सेवन गरेर स्टेयरिङ सम्हाल्नु दुर्घटनाको प्रमुख कारण बनेका छन् ।
यसका साथै सवारी चलाउँदा चलाउँदै मोबाइल फोनको प्रयोग गर्ने घातक बानीले पनि धेरैको ज्यान लिइरहेको प्रहरीको निष्कर्ष छ । सडक सुरक्षाका नियमहरूलाई बेवास्ता गर्दा देशको मेरुदण्ड मानिने युवा शक्ति अकालमै विलाउनुले गम्भीर चिन्ता थपेको छ ।

















