Logo

२७ बैशाख, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि टिकटको मूल्य उल्लेख्य रूपमा घटाएको छ ।

दर्शकको उपस्थिति बढाउने उद्देश्यले क्यानले नेपालका खेलहरूका लागि २ सय र अन्य देशबीचका खेलका लागि १ सय रुपैयाँ मात्र शुल्क तोकेको हो । यसअघिका शृङ्खलामा महँगो टिकटका कारण दर्शकको न्यून उपस्थिति देखिएपछि यस पटक क्यानले सुरुबाटै सस्तो दर कायम गरेको हो ।

मंगलबारदेखि कीर्तिपुर मैदानमा सुरु हुने यस शृङ्खलामा नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।  रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी जस्ता मुख्य खेलाडीहरू समावेश छन् ।

नेपालले आफ्नो पहिलो खेल मंगलबार स्कटल्यान्डसँग र दोस्रो खेल शनिबार अमेरिकासँग खेल्ने तालिका छ । सस्तो टिकट र बलियो टोलीको उपस्थितिले मैदानमा दर्शकको उत्साहजनक सहभागिता रहने क्यानको विश्वास छ ।


सम्बन्धित समाचार