३१ वैशाख, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा दिउँसै भएको युवक हत्या प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विपिन घिमिरेको हत्यामा संलग्न मुख्य योजनाकार सुजन शाहीलाई टोखा क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले घेरा हालेर पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि शाहीमाथि गोली प्रहार गरिएको थियो। प्रहरी स्रोतका अनुसार उनको घुँडामुनि गोली लागेको छ र हाल उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।
गत २३ वैशाखमा दिउँसो साढे २ बजेतिर कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मी घर भई कीर्तिपुर बस्ने २२ वर्षीय विपिन घिमिरेको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरिएको थियो। हत्या गर्ने र मारिने व्यक्तिहरू पहिलेदेखि नै साथी(साथी रहेको अनुसन्धानबाट खुलेको छ। उनीहरूबीच केही विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदा ६ जनाको समूहले घिमिरेमाथि आक्रमण गरेको सीसीक्यामेरा फुटेजमा देखिएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरी वृत्त कीर्तिपुरले यसअघि नै तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा अछामका महेन्द्र शाह, कैलालीका रवीन्द्र धामी र रोशन बिष्ट रहेका छन्। उनीहरूविरुद्ध कर्तव्य ज्यानको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। तर, मुख्य अभियुक्त सुजन शाही भने घटना लगत्तै फरार भएका थिए।
प्रहरीका अनुसार घटनास्थलमा देखिएका केही व्यक्तिहरू केही दिनअघि मात्रै अर्को मुद्दामा हिरासतबाट छुटेका थिए। हिरासतबाट मुक्त भएको छोटो समयमै उनीहरू फेरि जघन्य अपराधमा संलग्न भएको पाइएको छ। कीर्तिपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका घिमिरेको हत्या पछि कीर्तिपुर क्षेत्र त्रसित बनेको थियो।
मुख्य अभियुक्त पक्राउ परेसँगै यो हत्याका पछाडि रहेको थप रहस्य र कारणहरू खुल्ने प्रहरीको अपेक्षा छ। अभियुक्तहरूमाथि संगठित अपराध र कर्तव्य ज्यान अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताइएको छ।

















