Logo

१३ जेठ, काठमाडौँ । नेपाली काङ्ग्रेस निकट श्रमजीवी पत्रकारहरूको जेठो पेसागत सङ्गठन नेपाल प्रेस युनियनले आज (बुधबार) देशव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी आफ्नो ३५औँ स्थापना दिवस मनाउँदै छ ।

स्थापना दिवसकै ऐतिहासिक अवसर पारेर युनियनको केन्द्रीय समितिले सङ्घीय राजधानी काठमाडौँमा विशेष ‘विधान महाधिवेशन’ को आयोजना गरेको छ भने देशका सबै ७७ वटा जिल्ला शाखाहरूले आ–आफ्नो क्षेत्रमा रचनात्मक कार्यक्रम गरी दिवस मनाइरहेका छन् ।

विधान महाधिवेशनको औपचारिक सुरुवात हुनुअघि आज बिहान ७ बजे काठमाडौँको माइतीघर मण्डलाबाट ब्यानर र प्लेकार्डसहित भव्य प्रभातफेरी (र्‍याली) निकालिएको थियो। प्रभातफेरी सहरका विभिन्न भागको परिक्रमा गरी महाधिवेशन स्थलमा पुगेर समापन भएको थियो ।

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालका अनुसार बिहान ९ बजेदेखि विधान महाधिवेशनको बन्दसत्र तथा साङ्गठनिक छलफलका प्रक्रियाहरू सुरु भइसकेका छन् । यस ऐतिहासिक विधान महाधिवेशनको औपचारिक उद्घाटन मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम तय भएको अध्यक्ष लम्सालले जानकारी दिए ।

सङ्गठनलाई समयसापेक्ष, प्रविधिमैत्री र सबल बनाउनका लागि ल्याइने नयाँ विधानमाथि घनिभूत छलफल गर्न देशभरका शाखाहरूबाट नेतृत्व तह राजधानी आइपुगेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीका अनुसार महाधिवेशनमा भाग लिन सातै प्रदेश र सबै जिल्ला शाखाका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएका महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन् ।

बहुदलीय प्रजातन्त्रको पुनर्बहाली लगत्तै वि.सं. २०४८ साल जेठ १३ गते नेपालमा श्रमजीवी पत्रकारहरूको हकअधिकार, पेसागत सुरक्षा र लोकतन्त्रको रक्षाका लागि भएको ट्रेड युनियन आन्दोलनको जगमा नेपाल प्रेस युनियनको स्थापना भएको हो ।

नेपालका सञ्चारकर्मीहरूलाई लोकतान्त्रिक मूल्यमान्यतामा सङ्गठित गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) को नेपालबाट सदस्यता प्राप्त गर्ने मुलुककै पहिलो गौरवशाली संस्था समेत हो ।

वि.सं. २०४८ मा गठित युनियनको पहिलो तथा तदर्थ समितिको संयोजकका रूपमा पूर्वमन्त्री तथा तत्कालीन प्रखर पत्रकार जेपी गुप्ता रहेका थिए । सङ्गठनको जग बसाल्ने १७ जना संस्थापक सदस्यहरूमा हरि अधिकारी, रमेश तुफान, राजेश ढुङ्गाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान थिए ।

स्थापनाकालदेखि हालसम्म युनियनको सर्वोच्च नेतृत्व हरि अधिकारी, रमेश तुफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह, किरण पोखरेल र बद्री सिग्देलले सम्हालिसक्नुभएको छ भने हाल सङ्गठनको कमान्ड शिव लम्सालले गरिरहेका छन् ।

युनियनका महासचिव दिलीप पौडेलले स्थापनाको साढे तीन दशकसम्म आइपुग्दा युनियनले केवल पत्रकारको हकहितमा मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन, पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मिडियामैत्री नीतिगत व्यवस्था निर्माणका लागि सदैव पहरेदार र नेतृत्वदायी भूमिका खेल्दै आएको र आगामी दिनमा पनि यसलाई थप सशक्त बनाइने बताए ।


सम्बन्धित समाचार
भर्खरै