Logo

१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले पार्टी परित्याग गर्दै मुलुकमा नयाँ र विश्वसनीय ‘राष्ट्रवादी शक्ति’ निर्माणको अभियान घोषणा गरेका छन् ।

राप्रपाको वर्तमान कार्यशैली र वैचारिक द्विविधाप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका राणाले बिहीबार एक सार्वजनिक अपिल जारी गर्दै पार्टीबाट अलग भएको औपचारिक जानकारी दिएका हुन् । विगत चार वर्षदेखि पार्टीलाई जनभावना र राष्ट्रिय आवश्यकताअनुरूप अघि बढाउने आफ्नो प्रयास असफल भएको भन्दै उनले राप्रपाको बाटो ‘सैद्धान्तिक विचलन र जनदण्डको भागी’ बनेको टिप्पणी गरेका छन् ।

राप्रपाका सहयात्री र पार्टीभित्रका शुभचिन्तकहरूसँग व्यक्तिगत दुस्मनी नरहेको स्पष्ट पार्दै उनले स्वदेश तथा विदेशमा रहेका आम नेपालीको सल्लाह र सुझावबमोजिम नै आफूले यो राजनीतिक कदम चालेको उल्लेख गरेका छन् ।

आफ्नो नयाँ राजनीतिक यात्राको उद्देश्यबारे प्रष्ट पार्दै राणाले समृद्धिको चाहना राख्ने राष्ट्रवादी तप्का र नवयुवा पुस्तालाई एकताबद्ध गरी अघि बढ्ने उद्घोष गरेका छन् । ‘हाम्रा मान्यताहरूलाई सही गन्तव्यमा पुर्‍याउन स्वच्छ मनका साथ एकताबद्ध हुनुपर्ने आजको आवश्यकता हो,’ उनले भनेका छन् ।

पार्टीभित्र लामो समयदेखि नेतृत्वको कार्यशैली र वैचारिक अस्पष्टतालाई लिएर आन्तरिक किचलो चर्कँदै आएको थियो । राप्रपाका प्रभावशाली नेता मानिने राणाको यस निर्णयले राप्रपाको आन्तरिक राजनीतिमा मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सिर्जना गरेको छ ।

उनले आह्वान गरेको यो नयाँ राष्ट्रवादी अभियानले आगामी दिनमा कस्तो आकार लिन्छ र कुन(कुन शक्तिहरू यसमा गोलबद्ध हुन्छन्, त्यो भने हेर्न बाँकी नै छ ।


सम्बन्धित समाचार