Logo

१८ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको औपचारिक निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो नेपाल एयरलाइन्सको विमानमार्फत दिल्लीतर्फ उडेको हो ।

भ्रमण टोलीमा लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन् । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार १८ देखि २२ जेठसम्म लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यतालिका छ ।

भ्रमणका क्रममा उनले भाजपाका शीर्ष नेतृत्वसँग भेटघाट गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्नेछन्। यसबाहेक, व्यक्तिगत तवरमा लामिछानेले अयोध्या भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

सभापति लामिछानेको यो भ्रमण यस्तो समयमा सुरु भएको छ, जतिबेला प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल(भारत सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिले राष्ट्रिय राजनीति तरंगित बनेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षलगायतका दलहरूले तीव्र असन्तुष्टि जनाउँदै सिंहदरबारमा सर्वदलीय बैठकसमेत गरिरहेका छन् ।

राजनीतिक वृत्तमा प्रधानमन्त्रीको अभिव्यक्ति र लामिछानेको भारत भ्रमणलाई एकअर्कासँग जोडेर विभिन्न कोणबाट चासोका साथ हेरिएको छ । भ्रमणको सम्पूर्ण समन्वय नयाँदिल्लीस्थित नेपाली दूतावासले गरिरहेको पार्टीले जनाएको छ ।


सम्बन्धित समाचार