१८ जेठ,काठमाडौं । प्रतिनिधिसभामा सांसदहरूले प्रदर्शन गरेको अमर्यादित व्यवहार र अव्यवस्थाबारे छानबिन गर्न समिति गठन गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको जानकारी दिएका छन्।
सभामुखका अनुसार प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्।
सभामुख अर्यालले प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ अनुसार आवश्यक कारबाही अघि बढाइने स्पष्ट पारेका छन्।
समितिले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा भएको अव्यवस्था, नाराबाजी, वेल घेराउ तथा अमर्यादित व्यवहार र सम्भावित भौतिक क्षतिसम्बन्धी घटनाको विस्तृत जाँचबुझ गर्नेछ।
आइतबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए। सो क्रममा सांसदहरूबीच धकेलाधकेलसमेत भएको थियो।
त्यस दिन प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रिया अघि बढाइएको थियो। विपक्षी दलहरूले संशोधन प्रस्तावमाथि छलफलका लागि समितिमा पठाउन माग गरे पनि दफावार छलफल भइसकेको भन्दै सभामुखले प्रक्रिया अगाडि बढाएका थिए।




















