१९ जेठ, काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा राजनीतिक भेटघाटको शृङ्खला सुरु गरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) को विशेष निमन्त्रणामा दिल्ली पुगेका सभापति लामिछानेलाई भाजपाको केन्द्रीय कार्यालयमा परम्परागत झाँकी र भव्य फूलमालासहित स्वागत गरिएको छ ।
भाजपाका नेता नीतिन नविनसँगको भेटवार्ताबाट लामिछानेले आफ्नो औपचारिक भेटघाट सुरु गरेका हुन् । उक्त भेटका क्रममा भाजपाका नेताहरूले उनलाई पार्टीको संगठनात्मक संरचना र कार्यशैलीबारे जानकारी गराएका थिए ।
रास्वपाका अनुसार भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य, दलगत अनुभवको आदान–प्रदान र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ ।
सोमबार भारत प्रस्थान गरेका सभापति लामिछानेको यो भ्रमणलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । पाँचदिने बसाइका क्रममा उनले भारतीय राजनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटघाट गर्नुका साथै नेपाली समुदाय र समर्थकहरूसँग पनि संवाद गर्ने कार्यक्रम छ । साथै, आफ्नो भ्रमणको दौरान उनले अयोध्याको समेत भ्रमण गर्ने तयारी गरेका छन् ।





















