Logo

३० जेठ,काठमाडौं । नेकपा (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ।

गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक सुधारका विषयमा सुझाव सङ्कलन गर्न कार्यदल गठन गरिएको एमालेले जनाएको छ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले शनिबार बागमती प्रदेश संगठन कमिटीको समन्वयमा काठमाडौंबाट सुझाव संकलन अभियान सुरु गरेको हो। बागमती प्रदेश संगठन कमिटीको बैठकपछि विशेष भेला आयोजना गरी सुझाव संकलन गरिएको उनले जानकारी दिए।

गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसपछि जेठ २६ गते अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो।

निर्धारित तालिकाअनुसार कोशी प्रदेशमा असार २, लुम्बिनीमा असार ४, सुदूरपश्चिममा असार ६, कर्णालीमा असार ८, गण्डकीमा असार ११, मधेसमा असार १३, राजधानी विशेष प्रदेशमा असार १६ र सम्पर्क समन्वय विशेष प्रदेशमा असार १७ गते सुझाव संकलन गरिनेछ।

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ।

त्यसैगरी असार १८ गते जनसंगठन तथा असार १९ गते केन्द्रीय विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग समेत सुझाव संकलन गरिने एमालेले जनाएको छ।


सम्बन्धित समाचार