Logo

३० जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। शनिबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान ढिलाइपछि सुरु भएको हो।

निर्वाचनमा झण्डै १ हजार ३ सय प्रतिनिधिहरू सहभागी हुनेछन्। समायोजन प्रक्रियापछि विवादित ४ सय प्रतिनिधिमध्ये २१० जनालाई मतदानको अनुमति दिइएको छ।

निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिएको छ। त्यसका लागि १५ वटा मतदान केन्द्र (बुथ) व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन प्रक्रिया अनुसार पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यहरूको चयन गरिनेछ भने त्यसपछि पदाधिकारीहरूको निर्वाचन हुनेछ।

प्रदेश सभापतिका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री प्रतिस्पर्धामा छन्। पार्टी स्रोतका अनुसार मुख्य प्रतिस्पर्धा भने डा. लामिछाने र उत्सव अर्यालबीच हुने अनुमान गरिएको छ।

लामिछाने हालका प्रदेश सभापति हुन् भने अर्याल प्रदेश प्रवक्ताको जिम्मेवारीमा छन्। दुवै नेताले आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्।

निर्वाचनमार्फत सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री (विभिन्न लिङ्गको प्रतिनिधित्वसहित दुई जना) चयन गरिनेछ। प्रवक्ता र कोषाध्यक्ष भने मनोनयनमार्फत नियुक्त गरिने व्यवस्था रहेको पार्टीले जनाएको छ।


सम्बन्धित समाचार