३० जेठ,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
शनिबार रास्वपाका सभापति रवि लामिछानेलाई खुलापत्र लेख्दै साम्पाङले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको “नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्तिप्रति पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका हुन्।
साम्पाङले खुलापत्रमा २०८३ जेठ १७ गते बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको उल्लेख गरेका छन्।
उनले पत्रमार्फत रास्वपाले प्रधानमन्त्रीको भनाइलाई समर्थन गर्छ वा गर्दैन भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
खुलापत्रमा साम्पाङले लेखेका छन्, “तपाईंको पार्टी सदस्य तथा नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभएको सम्बन्धमा तपाईंको पार्टीको आधिकारिक धारणा के हो ? सो सार्वजनिक गरिदिन अनुरोध गर्दछु।”
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेका बेला साम्पाङको खुलापत्र सार्वजनिक भएको हो। रास्वपाले यस विषयमा हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
















