२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो साङ्गठनिक सुदृढीकरणका लागि जारी राखेको अधिवेशन प्रक्रियालाई तीव्रता दिएको छ ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार हालसम्म देशभरका ६०९ वटा पालिका र ६४ वटा जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । यस अभियान अन्तर्गत पार्टीले ४ हजार ३६३ वटा वडामा समेत सफलतापूर्वक अधिवेशन सम्पन्न गरेको छ ।
प्रादेशिक संरचनाको सन्दर्भमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन प्रक्रियाले पूर्णता पाइसकेको छ । मधेस प्रदेशको अधिवेशन हाल स्थगित गरिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशनका कार्यक्रमहरू जारी रहेका छन् । पार्टीका अनुसार केही हिमाली र तराईका जिल्लाहरूमा भने अझै अधिवेशन हुन बाँकी छ ।
विशेष गरी कर्णालीका डोल्पा र हुम्ला, लुम्बिनीको रुकुम पूर्व, गण्डकीका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी छ । साथै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा प्रक्रिया सुरु भएर पनि विविध कारणवश अधिवेशन स्थगित भएको जानकारी दिइएको छ ।
तल्लो तहका यी अधिवेशनहरूसँगै रास्वपा आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । महामन्त्री बुर्लाकोटीका अनुसार आगामी असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारीहरू तीव्र गतिमा अघि बढाइएको छ । तल्लो तहबाट नयाँ नेतृत्व चयन गर्दै महाधिवेशनको आधार तयार गरिरहेको रास्वपाले यस पटकको चितवन भेलालाई निकै महत्वका साथ हेरेको छ ।
















