२ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सीमासम्बन्धी विषयमा दिएको विवादास्पद अभिव्यक्तिको विरोध जारी छ ।
मङ्गलबारको बैठकमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उक्त भनाइलाई संसद्को रेकर्डबाट हटाउन माग गर्दै सरकारसँग आधिकारिक र स्पष्ट जवाफको माग गरेका छन् । सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको र यसले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका हुन् ।
नेकपाका सांसद प्रमेश हमालले जेठ १७ गतेको बैठकमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकारको धारणा स्पष्ट हुनुपर्नेमा जोड दिए । उनले केवल विरोध गरेर मात्र नहुने भन्दै यस्ता गम्भीर विषयमा सरकार पटक(पटक चुकेको आरोप लगाए ।
सांसद हमालले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै त्रिदेशीय सीमा विवादका विषयमा चीनसँग हालसम्म के कस्तो संवाद भयो भन्नेबारे तत्काल सदनलाई जानकारी गराउन आग्रह गरेका छन् । साथै उनले सुस्तामा भारतीय नागरिकको प्रवेश, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टर उडान र चिया निर्यातमा भइरहेको अवरोधजस्ता सुरक्षा चुनौतीहरूबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यसैगरी, कांग्रेस सांसद रेखाकुमारी यादवले मन्त्रीहरूको पछिल्लो व्यवहार ‘केटाकेटीलाई ललिपप देखाएजस्तो’ भएको भन्दै कडा टिप्पणी गरिन् । उनले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको जिम्मेवारी सम्बन्धित मन्त्रीले लिएर नहुने भन्दै प्रधानमन्त्री स्वयंले सदनमा स्पष्टीकरण दिनुपर्ने माग गरिन् ।
त्यस्तै, एमाले सांसद टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रिय मर्यादाविपरीत रहेको भन्दै तुरुन्त रेकर्डबाट हटाउन जोडदार माग गरिन् । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा विपक्षी दलहरूको चर्को दबाब बढेपछि सरकार थप अप्ठ्यारोमा परेको छ ।
















