२२ असार, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका गम्भीर र समसामयिक प्रश्नहरूको तत्काल जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।
संसद्को शून्य र आकस्मिक समयमा सांसदहरूले उठाएका विषयहरूमा सरकारले पर्याप्त ध्यान नदिएको भन्दै गुनासो बढिरहेका बेला सभामुखले यस्तो निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले सांसदहरूले उठाएका विषयहरूको जवाफ दिनुका साथै हालै देशका विभिन्न भागमा देखिएको बाढी, पहिरो र डुबानको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । ‘विपद् व्यवस्थापनका लागि पूर्वतयारीस्वरूप सरकारले हालसम्म के(कस्ता कामकारबाही गरेको छ, सोको जानकारी सदनलाई गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने ।
कर्णाली दुर्घटनामा गृहमन्त्रीको जवाफ माग
सोमबारको प्रतिनिधिसभा बैठकमा कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनाका विषयले मुख्य स्थान पाएको थियो । प्रतिपक्ष र सत्तापक्ष दुवैतर्फका सांसदहरूले सरकारले समयमै उद्धार कार्य नगरेको र व्यवस्थापकीय कमजोरी देखाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
सांसद रमेश प्रसाईंले सो दुर्घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै भने, ‘सरकारले आफ्नो सम्पूर्ण क्षमता उद्धारमा परिचालन गर्यो कि गरेन ? कर्णाली राजमार्गमा बारम्बार भइरहेका यस्ता दुर्घटना रोक्न सरकारसँग के दीर्घकालीन योजना छ? गृहमन्त्रीले यो रोस्ट्रममा उभिएर उत्तर दिनैपर्छ।’
सांसदहरूबाट लगातारको दबाब र प्रश्न उठेपछि सभामुख अर्यालले सरकारलाई संसद्को गरिमा र जनताको चासोलाई सम्बोधन गर्न र सम्बन्धित मन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन रुलिङ गरेका हुन् ।



















