Logo

२२ असार,काठमाडौं । नेपाली कांग्रेसको इतर समूहका नेताहरूको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्र चलिरहेको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिको समायोजन प्रक्रियाबारे विस्तृत ब्रिफिङ गरेका छन् ।

बैठकमा नेता खड्काले आफूहरूसहित डा.शेखर कोइराला पक्षका १११ जना नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने प्रस्तावबारे जानकारी गराउँदै यस सम्बन्धमा उपसभापति विश्वप्रकाश शर्मालाई लिखित जवाफ दिइसकेको बताए ।

उनले उपसभापति शर्मासँग भएको संवादबारे चर्चा गर्दै शर्माले आफू र डा. शेखर कोइरालालाई ुवरिष्ठ नेताु बनाउने प्रस्ताव राखे पनि आफूले त्यसलाई ठाडै अस्वीकार गरेको खुलासा गरेका छन् ।

यसअघि सातबुँदे प्रस्तावका सन्दर्भमा आफूहरूबीच केही सहमति भएको बताउँदै आएका खड्काले, पछिल्लो समय ‘शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक हुने’ भनी सार्वजनिक भएका समाचार र त्यसले देशभरका कार्यकर्तामा पारेको अन्योलबारे पनि गम्भीर ध्यानाकर्षण गराए। आफूहरूको सदस्यता अद्यावधिक नहुने तर शीर्ष नेताको हुने भन्ने समाचार सार्वजनिक भएपछि कार्यकर्ताहरूबाट व्यापक गुनासो आएको र त्यसपछि आफूले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गर्नुपरेको प्रसंग उनले बैठकमा राखे ।

संवाद चलिरहेकै अवस्थामा आफूहरूलाई पठाएको प्रस्ताव र मिडियामा आएका सूचनाका विषयमा उपसभापति शर्माले जनाएको असन्तुष्टि र स्रोतको हवाला दिँदै प्रकाशित समाचारहरूप्रति पनि उनले बैठकमा असन्तुष्टि जनाए ।

आफूले दिएको जानकारी स्पष्टीकरण नभई बैठकको कार्यसूचीको विषय भएको स्पष्ट पार्दै खड्काले अबका केही दिनमा यी सबै विषयमा थप गहन छलफल हुने जानकारी दिए । साथै, आगामी साउन ६ गते बीपी कोइराला जयन्ती विशेष कार्यक्रमका साथ मनाउने तयारी भइरहेको पनि उनले बैठकमा अवगत गराए ।


सम्बन्धित समाचार
भर्खरै