Logo

२२ असार,वीरगञ्ज । पर्साको ठोरी नाकामा भारतीय पर्यटकका सवारीसाधन रोकिएको विषय प्रतिनिधिसभामा उठेको छ।

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले संसद् बैठकमा यो विषय उठाउँदै सीमावर्ती क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनका अनुसार प्रधानमन्त्रीको पछिल्ला अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न समस्या देखिन थालेका छन्। सोही क्रममा पर्साको ठोरी नाकामा पनि भारतीय पर्यटकका सवारीसाधन आवागमनमा अवरोध भएको उनले बताइन्।

सांसद थपलियाले ठोरी नाकामा गत शुक्रबारदेखि सशस्त्र प्रहरीले ‘माथिको आदेश’ भन्दै भारतीय पर्यटकका सवारीसाधन नेपाल प्रवेशमा रोक लगाइरहेको दाबी गरिन्।

उनका अनुसार छोटी भन्सार कार्यालय भवन भए पनि आवश्यक कर्मचारी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। सीमावर्ती क्षेत्रमा वर्षौंदेखि सहज आवागमन हुँदै आएको अवस्थामा भन्सार नकटेको कारण देखाएर सवारीसाधन रोक्नु उचित नभएको उनको भनाइ थियो।

उनले ठोरी क्षेत्र प्राचीन तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यस्तो निर्णयले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने चेतावनी दिइन्।

सांसद थपलियाले सरकारलाई प्रश्न गर्दै सीमामा संरचना हुँदा पनि कर्मचारी व्यवस्थापन नगर्ने र अर्कोतर्फ पर्यटक फर्काउने अवस्था स्वीकार्य नहुने बताइन्।

उनले गृह मन्त्रालयलाई तत्काल यो निर्णय सच्याउन र सीमावर्ती क्षेत्रमा सहज आवागमन सुनिश्चित गर्न ध्यानाकर्षण गराएकी छन्।


सम्बन्धित समाचार
भर्खरै