२२ असार,काठमाडौं । सार्वजनिक स्थलमा महिलालाई लक्षित गरी अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयका एक अधिकृत पक्राउ परेका छन् ।
ललितपुरको इमाडोल क्षेत्रमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा प्रहरी वृत्त, सातदोबाटोले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् । बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिकामा बस्दै आएका भट्टले इमाडोलस्थित सार्वजनिक स्थलमा यस्तो अवाञ्छित कार्य गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार, पीडित महिलाले खिचेको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो । भिडियोका आधारमा अनुसन्धान थालेको प्रहरी टोलीले भट्टलाई पक्राउ गर्न सफल भएको हो ।
हाल पक्राउ परेका भट्टलाई प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । सार्वजनिक पदमा आसीन व्यक्तिबाटै यस्तो अमर्यादित र अश्लील हर्कत भएको भन्दै घटनालाई गम्भीरताका साथ लिइएको छ ।
प्रहरीले घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।



















