Logo

२२ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले ‘हाजिर गरेर बाहिरिने’ (हाटा) प्रवृत्तिलाई निरन्तरता दिएका छन् ।

सोमबार बसेको बैठकमा महत्त्वपूर्ण प्रस्तावमाथि छलफलका लागि नाम टिपाएका सांसदहरू नै आफ्नो पालो आउँदा सभाकक्षमा अनुपस्थित देखिएपछि संसद्को गरिमा र सांसदहरूको जिम्मेवारीमाथि पुनः प्रश्न उठेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि उक्त विषयमा छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराई र नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले बोल्न नाम टिपाएका थिए ।

सभामुखले बोल्नका लागि समय दिँदै पटक–पटक नाम बोलाउँदा पनि दुवै सांसद सभाकक्षमा उपस्थित थिएनन् । संसद्को नियमावलीअनुसार बोल्ने समय लिएका सांसदहरूले आफ्नो पालोमा उपस्थित हुनुपर्ने भए पनि उनीहरूको अनुपस्थितिले संसद्को समय खेर जानुका साथै जनताको प्रतिनिधिले निर्वाह गर्नुपर्ने जिम्मेवारीप्रति उदासीनता देखाएको छ ।

सचेत सांसदको मात्र सहभागिता

सांसद भट्टराई र सुब्बा अनुपस्थित भएपछि सभामुखले अर्को क्रममा रहेका रास्वपाका सांसद गोविन्द पन्थीलाई बोल्न समय दिएका थिए । सदनमा उपस्थित सांसद पन्थीले उक्त महासन्धी श्रमिकहरूको अधिकार संरक्षणका लागि विश्वव्यापी प्रतिबद्धता भएको उल्लेख गर्दै निजी क्षेत्रमा रहेका कामदारहरू श्रम शोषणमा पर्ने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराए ।

हाजिर गरेर बाहिरिने र छलफलको समयमा गायब हुने यस्तो प्रवृत्तिले संसद्को प्रभावकारितामाथि प्रश्न खडा गर्दै आएको छ । संसद् सचिवालयले यस्तो विकृति रोक्न पटकपटक ताकेता गरे पनि सांसदहरूको यो कार्यशैलीले सुधारको संकेत अझै देखाउन सकेको छैन ।


सम्बन्धित समाचार
भर्खरै