२२ असार,चितवन। चितवन प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको दुई दिने अपरेसनमा ट्रामाडोलसहितका लागुऔषधको अवैध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–७ भालुमारा र कालिका नगरपालिका–६ हरिहर टोल क्षेत्रमा भइरहेको अवैध कारोबारमाथि निगरानी बढाएपछि २०८३ असार २० र २१ गते गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
प्रहरी चौकी जुटपानी र प्रहरी चौकी खोलेसीमलबाट खटिएको संयुक्त प्रहरी टोलीले पहिलो चरणको कारबाहीमा कालिका नगरपालिका–७ का २१ वर्षीय विजय सुनार, भरतपुर महानगरपालिका–७ का ३१ वर्षीय विनोद जोशी, इच्छाकामना गाउँपालिका–७ का २५ वर्षीय साजन थापा मगर र कालिका नगरपालिका–७ का २३ वर्षीय रोमन सुनारलाई पक्राउ गरेको थियो।
उनीहरूको साथबाट प्रहरीले ट्रामाडोल ३ हजार ४ सय क्याप्सुल, एनरगन ३ हजार ८ सय ९० क्याप्सुल तथा ना ४६ प ९५२१, ना ९१ प ३३९८ र ना ४६ प ८६८८ नम्बरका तीन वटा मोटरसाइकल बरामद गरेको जनाएको छ।
त्यसको भोलिपल्ट असार २१ गते गरिएको अर्को कारबाहीमा कालिका नगरपालिका–६ का २७ वर्षीय दिवस न्यौपाने पक्राउ परेका छन्। उनको साथबाट ट्रामाडोल ६ हजार ८० क्याप्सुल र एनआरगन ४ हजार २ सय क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
दुवै कारबाहीबाट प्रहरीले ट्रामाडोल ९ हजार ६ सय ८० क्याप्सुल र एनएसग्रान ८ हजार ९० क्याप्सुल गरी कुल १७ हजार ७ सय ७० क्याप्सुल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेका पाँचै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीले लागुऔषधको अवैध कारोबार नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै सूचनाका आधारमा निगरानी र कारबाहीलाई निरन्तर तीव्र बनाइने जनाएको छ ।



















