Logo

२३ असार,काठमाडौं । फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा बेल्जियम र स्पेनबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल प्रवेशका लागि हुने यो खेल नेपाली समयअनुसार शुक्रबार मध्यराति पौने १ बजे सुरु हुनेछ।

अन्तिम–१६ अन्तर्गत भएका खेलमा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। यस्तै बेल्जियमले आयोजक अमेरिकामाथि ४–१ को प्रभावशाली जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।

बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो भने स्पेन सन् २०१० यता पहिलो पटक अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ।

यसअघि बिहीबार राति पौने २ बजे हुने अर्को क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन्।

यता अन्तिम–१६ का बाँकी दुई खेल आज हुनेछन्। साविक विजेता अर्जेन्टिनाले नेपाली समयअनुसार राति पौने १० बजे इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले नकआउट चरणमा केब भर्डेलाई पराजित गरेको थियो भने इजिप्टले पेनाल्टी सुटआउटमा अष्ट्रेलियालाई हराउँदै अन्तिम–१६ मा स्थान बनाएको हो।

प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्विजरल्याण्ड र कोलम्बियाबीच नेपाली समयअनुसार राति पौने २ बजे प्रतिस्पर्धा हुनेछ।


सम्बन्धित समाचार