Logo

२३ असार,वीरगञ्ज । पर्साको वीरगञ्जबाट सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। साथै, छुट्टै कारबाहीमा करिब पाँच लाख रुपैयाँ बराबरका अवैध औषधि पनि बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा रोकी जाँच गर्दा उक्त सफलता हात पारेको हो।

जाँचका क्रममा ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागूऔषध डाइजेपाम २०० एम्पुल, हाइड्रोक्लोराइड २०० एम्पुल र बुप्रेनोर्फिन २ एम्पुल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त लागूऔषध, ई–रिक्सा तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

यसैबीच, सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका करिब पाँच लाख रुपैयाँ बराबरका औषधि पनि बरामद गरेको छ।

सशस्त्र प्रहरीको बीओपी सिर्सियाबाट खटिएको टोलीले चार कार्टुन भिटामिनलगायतका विभिन्न औषधि बेवारिसे अवस्थामा फेला पारेको हो। प्रहरीको उपस्थितिको जानकारी पाएपछि तस्करहरू सामान छाडेर फरार भएका थिए।

बरामद गरिएका अवैध औषधिहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।


सम्बन्धित समाचार