२३ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहनुभएका अध्यक्ष कान्डासँगको यस भेटमा नेपालको आर्थिक विकास र पूर्वाधार निर्माणमा एडीबीले पुर्याउँदै आएको सहयोगका विषयमा छलफल भएको छ । यो भेटवार्ताको पृष्ठभूमिमा सोमबार मात्र नेपाल सरकार र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २२ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता सम्पन्न भएको थियो ।
सरकारले एडीबीबाट प्राप्त हुने उक्त ठूलो धनराशि मुख्यतया भन्सार प्रणालीको आधुनिकीकरण र प्रविधिमैत्री बनाउन परिचालन गर्ने योजना बनाएको छ । यसअन्तर्गत जोखिममा आधारित जाँचपास प्रणालीको विकास गरी व्यापार लागत घटाउने र सीमापार व्यापारलाई थप व्यवस्थित तथा सहज बनाउने लक्ष्य राखिएको छ ।
यस आयोजनाको प्रभावकारी कार्यान्वयनले क्षेत्रीय मूल्य शृङ्खलामा नेपालको सहभागितालाई बलियो बनाउनुका साथै स्वदेशमै थप रोजगारीका अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।



















