२३ असार, कलैया (बारा) । यातायात व्यवस्था कार्यालय कलैया (बारा) मा कार्यरत ट्रायल प्रमुख जीवनरमण पौडेलमाथि कार्यकक्षमै मोबिल प्रहार भएको गम्भीर घटनाको चार महिना बितिसक्दा पनि बारा प्रहरीको अनुसन्धान ‘आश्वासन’मै सीमित बनेको छ ।
सीसीटीभी फुटेजमा दोषी प्रस्ट देखिँदा समेत जिल्ला प्रहरी कार्यालय बाराले अभियुक्तलाई कानुनी दायरामा ल्याउन नसक्दा कार्यालयका कर्मचारीहरूमा त्रास र असुरक्षाको वातावरण झन् गहिरिएको छ ।
प्रहरी प्रशासनको यो लाचारीका कारण कर्मचारीहरूको मनोबल खस्किएकै बेला, कार्यालय प्रमुख चिन्तन आचार्यसँग जोडिएको एउटा आंशिक (सम्पादित) भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस कार्यालयमा नयाँ विवाद चुलिएको छ ।
गत फागुन महिनामा कार्यालय समयमै ट्रायल प्रमुख पौडेलमाथि कार्यकक्षभित्रै मोबिल प्रहार भएको थियो । स्थानीय स्रोतका अनुसार उक्त घटनामा आनन्द गुप्ता नाम गरेका व्यक्तिको प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ, जुन कुरा कार्यालयको सीसीटीभी फुटेजमा समेत कैद भएको देखिएको छ ।
घटनालगत्तै प्रहरीले सीसीटीभी फुटेज लिएर अनुसन्धान सुरु गरेको र दोषीलाई चाँडै पक्राउ गर्ने आश्वासन दिए पनि चार महिनासम्म कुनै ठोस उपलब्धि सार्वजनिक भएको छैन । नाम नखुलाउने सर्तमा कार्यालयका एक कर्मचारीले आक्रोश पोखे, “कार्यालयभित्रै प्रमुख तहको कर्मचारीमाथि आक्रमण हुँदा पनि अपराधी खुलामखुला घुमिरहनुले राज्य संयन्त्र कति लाचार छ भन्ने देखाउँछ । प्रहरीको आश्वासन मात्र सुन्दासुन्दा हामी थाकिसक्यौँ, अब कुन मनोबलले सेवाग्राहीको काम गर्ने?”
भाइरल भिडियोको विवाद: “काँटछाँट गरेर भ्रम फैलाइयो”
मोबिल प्रहारको त्रास र प्रहरीको ढिलासुस्तीकै बीच यातायात कार्यालय बाराका प्रमुख चिन्तन आचार्यसँग जोडिएको एउटा भिडियो टिकटक र फेसबुकमा भाइरल भएपछि झन् नयाँ विवाद थपिएको छ ।
उक्त भिडियो बाहिरिएपछि यातायात व्यवस्था कार्यालय बाराले औपचारिक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा राखिएको सामग्री ‘एडिटेड’ (काँटछाँट गरिएको) र नियोजित भएको दाबी गरेको छ।

कार्यालय प्रमुख आचार्यले आफ्नो चरित्र हत्या गर्ने र कार्यालयलाई बदनाम गर्ने मनसायले घटनाको पूर्ण दृश्य लुकाएर केही अंश मात्र बाहिर ल्याइएको बताएका छन् । “अपूर्ण र एकपक्षीय भिडियो सार्वजनिक गरेर आमजनतामा भ्रम छर्ने र कर्मचारीको मनोबल गिराउने काम भयो,” आचार्यले भने ।
विज्ञप्तिअनुसार आफूलाई पत्रकार दाबी गर्ने एक व्यक्तिले कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरी नियमित प्रशासनिक कार्यमा अवरोध पुर्याउने, कर्मचारीलाई अपशब्द प्रयोग गर्ने र अनैतिक दबाब दिने गरेपछि सामान्य भनाभन भएको उल्लेख छ । सो विवादपछि दुवै पक्ष बसेर छलफल गरी आपसी सहमतिमा मिलापत्र समेत भइसकेको दाबी कार्यालयले गरेको छ।
कार्यालयले अपूर्ण भिडियो वा एकपक्षीय सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । एकातिर कार्यकक्षमै मोबिल प्रहार हुँदा पनि दोषी पक्राउ नपर्नु र अर्कोतिर काँटछाँट गरिएको नियोजित भिडियोका आधारमा नयाँ विवाद सिर्जना हुनुले बाराको सरकारी सेवा प्रवाह र सुरक्षा व्यवस्थामाथि ठुलो चुनौती खडा भएको यातायात कार्यालय प्रमुख आचार्यले बताए ।
कर्मचारीहरूले मोबिल काण्डका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र भयमुक्त वातावरणमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन गृह प्रशासनसँग गुहार गरेका छन् ।



















