२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लक्षित मौद्रिक नीतिको मस्यौदालाई अन्तिम रूप दिएको छ ।
आर्थिक अनुसन्धान विभागद्वारा तयार पारिएको उक्त मस्यौदालाई अब बैंक व्यवस्थापन र सञ्चालक समितिबाट अनुमोदन गराउने प्रक्रिया अघि बढाइएको छ । गभर्नर कार्यालयका अनुसार, सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी आजै वा ढिलोमा भोलि बिहानसम्म मौद्रिक नीति सार्वजनिक गर्ने योजना रहेको छ ।
सहप्रवक्ता सुधा श्रेष्ठले पनि नीतिगत छलफलका लागि बैठकहरू जारी रहेको पुष्टि गर्दै सोही बैठकको निर्णयबाट सार्वजनिक हुने समय सुनिश्चित हुने बताएकी छिन् ।
सरकारले बजेटमार्फत ७ प्रतिशतको आर्थिक वृद्धिदर र ६ प्रतिशतको मुद्रास्फीति सीमाभित्र राख्ने लक्ष्य लिएकाले, सोही लक्ष्यलाई सघाउ पुग्ने गरी राष्ट्र बैंकले कस्तो नीति ल्याउला भन्ने कुरामा अर्थ बजारको चासो केन्द्रित छ ।



















