२३ असार, काठमाडौं । छिमेकी मुलुक भारतले लगाएको ‘सेफगार्ड ड्युटी’ (संरक्षणात्मक भन्सार महसुल) का कारण नेपाली स्टिल उद्योगमा गम्भीर संकट उत्पन्न भएको छ ।
एक वर्षअघिको तुलनामा नेपालबाट भारततर्फ हुने फलाम तथा स्टिलको निर्यातमा ६८ दशमलव ६७ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ४२ करोड रुपैयाँको स्टिल निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो अंक जम्मा ४ अर्ब ८३ करोड रुपैयाँमा खुम्चिएको छ । भारतको यस नीतिले नेपालले एक वर्षभित्रै १० अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात आम्दानी गुमाएको छ ।
भारतले डिसेम्बरदेखि चीन, भियतनाम र नेपालबाट हुने स्टिल आयातमा ११ देखि १२ प्रतिशतसम्मको तीनवर्षे सेफगार्ड ड्युटी लागू गरेपछि नेपाली उत्पादनहरू भारतीय बजारमा महँगो पर्न गएका हुन् । यसले गर्दा स्वदेशी उद्योगहरूको व्यापार खुम्चिनुका साथै रोजगारी कटौती हुने र राजस्व संकलनमा समेत नकारात्मक प्रभाव पर्ने चिन्ता बढेको छ । भारतले थप आयात प्रतिबन्ध लगाउने संकेत दिइरहेकाले नेपाली स्टिल उद्योग थप ठूलो जोखिमको सामना गरिरहेको छ ।
नेपाली उद्योगीहरूले भने अल्पविकसित मुलुक (एलडीसी) का रूपमा नेपाललाई दिइने सुविधा र यस क्षेत्रको वस्तुस्थितिलाई बेवास्ता गर्दै भारतले लगाएको यो महसुल अन्यायपूर्ण भएको गुनासो गरेका छन् ।
नेपालमा झन्डै ८३ वटा स्टिल उद्योग दर्ता रहेका छन् र स्वदेशी मागको ठूलो हिस्सा तिनै उद्योगले धान्दै आएका छन् । निर्यातमा आएको यस गिरावटलाई रोक्न र उद्योग क्षेत्रलाई बचाउन तत्काल उच्चस्तरीय कूटनीतिक पहल र वार्ता आवश्यक रहेको जानकारहरूको तर्क छ ।



















