२३ साउन माडी । परम्परागत चुलोको धुवाँले वर्षौंदेखि प्रभावित हुँदै आएका माडीका घरपरिवारलाई स्वच्छ, सुरक्षित र वातावरणमैत्री भान्सातर्फ उन्मुख गराउने उद्देश्यले माडी नगरपालिकाले सञ्चालन गरिरहेको स्वच्छ ऊर्जा कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको छ। कार्यक्रमअन्तर्गत सुधारिएको चुलो वितरण सम्पन्न भइसकेको छ भने केही स्थानमा घरायसी बायोग्यास निर्माण तथा वितरणसमेत भइसकेको छ। अब विद्युतीय चुलो वितरण गरिने नगरपालिकाले जनाएको छ।
हरित जलवायु कोष,वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक सहयोग, तथा माडी नगरपालिका र उपभोक्ताको लागत साझेदारीमा सञ्चालन भइरहेको यो कार्यक्रम जलवायु परिवर्तनको असर न्यूनीकरण, घरभित्रको धुवाँजन्य प्रदूषण नियन्त्रण, इन्धनको बचत तथा नागरिकको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले कार्यान्वयन गरिएको हो।
माडी नगरपालिकाले सुधारिएको चुलोका लागि इच्छुक नागरिकबाट आवेदन सङ्कलन गरेको थियो। कुल ४ सय ७६ वटा आवेदन परेपछि पहिलो चरणमा ४ सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ। बाँकी ७६ लाभग्राहीलाई आगामी चरणमा प्राथमिकताका साथ समेटिने नगरपालिकाले जनाएको छ।
कार्यक्रमले तराई क्षेत्रमा खाना पकाउन प्रयोग हुँदै आएको दाउरा, गुइँठा, कृषिजन्य अवशेष तथा आयातित इन्धनको प्रयोग घटाई आधुनिक तथा स्वच्छ ऊर्जा प्रविधिको प्रयोग बढाउने लक्ष्य लिएको छ। यसअन्तर्गत तह–३ स्तरको सुधारिएको चुलो, विद्युतीय चुलो तथा घरायसी बायोग्यास प्रवर्द्धन गरिँदै आएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आर्थिक वर्ष २०८०/८१ देखि पाँच वर्षका लागि सञ्चालनमा ल्याएको यस कार्यक्रमबाट तराईका २२ जिल्लाका २८४ स्थानीय तह लाभान्वित हुनेछन्। माडी नगरपालिकामा भने आर्थिक वर्ष २०८२/८३ देखि केन्द्रसँग सम्झौता भई कार्यक्रम कार्यान्वयनमा आएको हो।
लागत साझेदारीअनुसार सुधारिएको चुलोमा हरित जलवायु कोषबाट ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ४० प्रतिशत, माडी नगरपालिकाबाट १५ प्रतिशत र उपभोक्ताबाट ५ प्रतिशत लागत व्यहोरिएको छ।
विद्युतीय चुलोमा हरित जलवायु कोषबाट १० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ४७.९७ प्रतिशत, माडी नगरपालिकाबाट १९.०९ प्रतिशत तथा उपभोक्ताबाट २२.९४ प्रतिशत लागत साझेदारी रहनेछ। हाल यसको वितरणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
त्यसैगरी घरायसी बायोग्यासमा हरित जलवायु कोषबाट २८.३४ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ४८ प्रतिशत, माडी नगरपालिकाबाट १० प्रतिशत तथा उपभोक्ताबाट १३.६६ प्रतिशत लागत साझेदारी रहेको छ। यसअन्तर्गत माडीका केही उपभोक्ताले बायोग्यास निर्माण तथा प्रयोगसमेत सुरु गरिसकेका छन्।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतो ले स्वच्छ ऊर्जा प्रवर्द्धन नागरिकको स्वास्थ्य, वातावरण संरक्षण र दिगो विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको बताइन्। परम्परागत चुलोबाट निस्कने धुवाँका कारण विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले नगरपालिकाले स्वच्छ ऊर्जा प्रविधिको विस्तारलाई प्राथमिकतामा राखेको उनले बताइन्। सुधारिएको चुलो वितरण सम्पन्न भइसकेको, बायोग्यास विस्तार भइरहेको र विद्युतीय चुलो वितरणको तयारीसमेत भइरहेकाले आगामी दिनमा माडीलाई क्रमशः धुवाँमुक्त भान्सातर्फ उन्मुख गराइने उनको भनाइ छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल ले स्वच्छ ऊर्जा प्रविधिको प्रयोगले इन्धनको खपत घट्ने, वनमाथिको दबाब कम हुने, आर्थिक बचत हुने तथा घरभित्रको वायु प्रदूषण न्यूनीकरण भई नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताए। स्थानीय सरकारले नागरिकको जीवनस्तर सुधार गर्ने यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ विस्तार गर्दै लैजाने उनले जानकारी दिए।
माडी नगरपालिकाकी सामाजिक परिचालक लक्ष्मी शर्मा का अनुसार सुधारिएको चुलो वितरण सम्पन्न भइसकेको छ, केही स्थानमा घरायसी बायोग्यास निर्माण तथा वितरणसमेत भइसकेको छ भने विद्युतीय चुलो वितरणको तयारी हुदै छ । उनका अनुसार स्वच्छ ऊर्जा कार्यक्रमले माडीका घरपरिवारलाई आधुनिक, वातावरणमैत्री र स्वास्थ्यमैत्री भान्सातर्फ उन्मुख गराउने विश्वास गरिएको छ।



















