२३ असार, माडी (चितवन)। माडी नगरपालिकामा कार्यरत नगर प्रहरीको व्यावसायिक क्षमता अभिवृद्धि, अनुशासन, नेतृत्व विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको एकमहिने आधारभूत तालिम सम्पन्न भएको छ।
२०८३ साल जेठ ८ गतेदेखि इलाका प्रहरी कार्यालय माडी, बसन्तपुरमा सञ्चालन भएको तालिम पूरा गरेका नगर प्रहरीहरू दीक्षान्त समारोहमार्फत औपचारिक रूपमा दीक्षित भएका हुन् ।
एक महिनासम्म सञ्चालन भएको तालिममा नगर प्रहरीलाई सैद्धान्तिक र व्यवहारिक गरी दुई चरणमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिमका क्रममा कानुन कार्यान्वयन, सार्वजनिक सुरक्षा, भीड व्यवस्थापन, विपद् व्यवस्थापन, प्राथमिक उपचार, अनुशासन, नागरिकमैत्री व्यवहार, मानवअधिकार तथा स्थानीय सरकारसँगको समन्वयलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
बाह्य प्रशिक्षकका रूपमा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार नैना आले मगर ले प्रहरी अनुशासन, कानुनी व्यवस्था, सुरक्षा व्यवस्थापन तथा व्यवहारिक प्रहरी कार्यसम्पादनसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय माडी, बसन्तपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक किरण राई, बगौडा अस्पतालका चिकित्सक तथा माडी नगरपालिकाका सम्बन्धित कर्मचारीहरूले आन्तरिक प्रशिक्षण सञ्चालन गर्दै नगर प्रहरीको भूमिका, जिम्मेवारी, विपद् व्यवस्थापन, प्राथमिक उपचार, सेवा प्रवाह र नागरिकसँगको व्यवहारका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
तालिम सफलतापूर्वक पूरा गरी यसपटक एक नगर प्रहरी हवल्दार र दुई नगर प्रहरी जवान दीक्षित भएका छन्। दीक्षित हुनेमध्ये दुई पुरुष र एक महिला रहेका छन्। तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवले स्थानीय तहमा शान्ति–सुरक्षा कायम राख्न, स्थानीय कानुनको प्रभावकारी कार्यान्वयन गर्न तथा नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दीक्षान्त समारोहमा माडी नगरपालिकाकी नगर प्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नं. ३, ४, ५, ६, ७, ८ र ९ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय माडी, बसन्तपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक किरण राई, सीमा सुरक्षा बल चैनपुरका प्रहरी निरीक्षक बिपुल नेपाली,इलाका प्रहरी कार्यालयका प्रहरी कर्मचारी, नगरपालिकाका कर्मचारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहमा वक्ताहरूले नगर प्रहरी स्थानीय सरकारको सुरक्षा व्यवस्थापनको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतारेर निष्पक्ष, जिम्मेवार र नागरिकमैत्री सेवा दिन आग्रह गरे। उनीहरूले यस्ता क्षमता अभिवृद्धि तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नगर प्रहरीलाई अझ सक्षम र व्यावसायिक बनाइने प्रतिबद्धता व्यक्त गरे ।
दीक्षान्त समारोहसँगै एकमहिने प्रशिक्षणको औपचारिक समापन भएको छ । तालिमबाट दीक्षित नगर प्रहरीले अब माडी नगरपालिकाभित्र शान्ति–सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण, स्थानीय कानुनको कार्यान्वयन तथा नागरिक सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।



















