Logo

२३ असार, माडी (चितवन)। माडीमा विद्यालयस्तरीय क्रिकेट प्रतिभाको उत्कृष्ट प्रदर्शनसँगै सम्पन्न दोस्रो अन्तरविद्यालय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि दिवाकर स्मृति प्राविधिक शिक्षालय ले जितेको छ । वसन्तपुर युथ क्लबको आयोजना तथा दिवाकर स्मृति माध्यमिक विद्यालयको सहआयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

फाइनलमा माडी माध्यमिक विद्यालयले टस जितेर पहिलो ब्याटिङ गर्दै १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिवाकर स्मृति प्राविधिक शिक्षालय ले संयमित र उत्कृष्ट प्रदर्शन गर्दै ३ बल बाँकी रहँदै निर्धारित लक्ष्य पूरा गरी उपाधिमाथि कब्जा जमायो । उपाधिका लागि अन्तिमसम्म संघर्ष गरेको माडी माध्यमिक विद्यालय भने उपविजेतामा सीमित बन्यो ।

प्रतियोगिताका व्यक्तिगत पुरस्कारतर्फ दिवाकर स्मृति प्राविधिक शिक्षालयका शिवनन्दन यादव प्लेयर अफ द म्याच घोषित भए। माडी माध्यमिक विद्यालयका प्रिन्स कुँवर बेस्ट ब्याट्सम्यान, विद्याज्योति इङ्ग्लिस स्कुलका आयुष पाठक बेस्ट बलर तथा माडी माध्यमिक विद्यालयका प्रिन्स धिताल प्लेयर अफ द टुर्नामेन्ट घोषित हुँदै सम्मानित भए ।

समापन तथा पुरस्कार वितरण कार्यक्रमको सभाध्यक्षता वसन्तपुर युथ क्लबका सचिव तथा शिक्षक मिलन पनेरुले गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष तथा माडी शिक्षा, खेलकुद विकास समितिका अध्यक्ष पुरन महतो प्रमुख अतिथि रहेका थिए । त्यसैगरी क्लबका सल्लाहकार गोविन्द पौडेल विशेष अतिथि तथा दिवाकर स्मृति प्राविधिक शिक्षालयका प्रमुख हरि पौडेल अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल संस्कृतिको विकास, अनुशासन, नेतृत्व क्षमता, स्वस्थ प्रतिस्पर्धा र आपसी मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनीहरूले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित, गुणस्तरीय र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाए ।

यसैबीच, निकट भविष्यमा आयोजना हुने अन्तरनगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता का लागि खेलाडी छनोट गरिने र छनोट भएका खेलाडीहरूको नामावली केही दिनभित्र सार्वजनिक गरिने जानकारी आयोजकले दिएको छ । विद्यालयस्तरबाट प्रतिभावान खेलाडी पहिचान गर्दै उनीहरूलाई उच्चस्तरीय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले छनोट प्रक्रिया अघि बढाइने आयोजकको भनाइ छ ।


सम्बन्धित समाचार
भर्खरै