२२ असार, काठमाडौं । सरकारले अर्थ मन्त्रालयअन्तर्गतका राजस्व प्रशासनसँग सम्बन्धित दुई प्रमुख विभागको नेतृत्व परिवर्तन गरेको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागमा नयाँ महानिर्देशक नियुक्त गरिएसँगै राजस्व संकलन र कर प्रशासनको नेतृत्वमा नयाँ टोली आएको हो।
भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् भने आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी डा. भीष्मकुमार भुसाललाई दिइएको छ। त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन्।
यसअघि भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका भरतमणि पाण्डेय र आन्तरिक राजस्व विभागको नेतृत्व गर्दै आएका निमित्त महानिर्देशक रमेश अर्याललाई अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। नयाँ जिम्मेवारी पाएका तीनै सहसचिवलाई हालैको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरेको थियो।
यो नेतृत्व परिवर्तनलाई सरकारले नयाँ आर्थिक वर्षको सुरुआतमै राजस्व प्रशासनलाई थप सक्रिय, प्रभावकारी र परिणाममुखी बनाउने प्रयासका रूपमा हेरिएको छ। सरकारले चालु आर्थिक वर्षका लागि महत्वाकांक्षी राजस्व संकलन लक्ष्य निर्धारण गरेको अवस्थामा भन्सार र आन्तरिक राजस्व विभागको भूमिका झनै महत्त्वपूर्ण रहनेछ।
भन्सार विभागले आयात–निर्यात व्यवस्थापन, भन्सार महसुल संकलन तथा सीमावर्ती नाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने जिम्मेवारी वहन गर्छ। अर्कोतर्फ, आन्तरिक राजस्व विभागले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा अन्य आन्तरिक करको प्रशासन सञ्चालन गर्दै मुलुकको राजस्व संकलनमा प्रमुख योगदान पुर्याउने निकायका रूपमा काम गर्दै आएको छ।
पछिल्लो समय अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको, करको दायरा विस्तार, चुहावट नियन्त्रण र कर प्रशासनलाई प्रविधिमैत्री बनाउने विषय सरकारका प्रमुख चुनौतीका रूपमा रहेका छन्। यस्तो अवस्थामा अनुभवी सहसचिवहरूको नेतृत्वमा दुवै विभागले राजस्व परिचालनलाई प्रभावकारी बनाउने र सरकारको राजस्व लक्ष्य हासिल गर्न थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।



















