Logo

२३ असार, कलैया (बारा) । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाराको नेतृत्वमा फेरबदल भएको छ । जिल्ला सभापति राजेश राय यादव अनुशासनको कारबाहीमा परेर निलम्बनमा परेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिइएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, सानेपाबाट जारी गरिएको आधिकारिक पत्र अनुसार भट्टले अब जिल्ला कार्यसमितिको कमान्ड सम्हाल्ने भएका हुन् ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको  जेठ २१ गतेको निर्णयबमोजिम जिल्ला सभापति राजेश राय यादवलाई पार्टी हित विपरितका गतिविधिमा संलग्न रहेको आरोपमा निलम्बन गरिएको थियो । सभापति यादव निलम्बनमा परेसँगै बारा जिल्ला सभापतिको पद रिक्त रहँदै आएको थियो ।

जिल्ला नेतृत्वविहीन हुँदा पार्टीका नियमित कार्य र सांगठनिक गतिविधिहरू प्रभावित हुन थालेपछि केन्द्रले उपसभापति भट्टलाई अगाडि सारेको हो ।

पार्टीका केन्द्रीय सभापति गगनकुमार थापाद्वारा हस्ताक्षरित पत्रमा, कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका नजिकिँदै गरेको परिप्रेक्ष्यमा संगठन परिचालनलाई तीव्र बनाउन यो कदम चालिएको उल्लेख छ । पत्रमा भनिएको छ, “पार्टीका सांगठनिक गतिविधि नियमित, प्रभावकारी र गतिशील रूपमा सञ्चालन गर्न तथा महाधिवेशनको कार्यतालिका अनुसार संगठन परिचालनलाई निरन्तरता दिन उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको हैसियतमा दैनिक कामकाज गर्ने जिम्मेवारी प्रदान गरिएको छ।”

केन्द्रले नवनियुक्त कार्यवाहक सभापति भट्टलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली, २०७६ बमोजिम पार्टीको हित चिताई निष्ठापूर्वक दैनिक कामकारबाही अघि बढाउन निर्देशन समेत दिएको छ ।

पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीका कारण बारा कांग्रेस लामो समयदेखि विवादमा रहँदै आएको थियो । महाधिवेशनको सङ्घारमा युवा नेता भट्टले कार्यवाहक सभापतिको जिम्मेवारी पाएसँगै बारामा कांग्रेसको संगठनलाई एकीकृत र मजबुत बनाउने चुनौती र अवसर दुवै उनी सामु देखा परेको छ ।


सम्बन्धित समाचार
भर्खरै