Logo

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षाले बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेको देखाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको अत्यधिक तरलताका कारण बजारको अल्पकालीन ब्याजदरहरू केन्द्रीय बैंकले तोकेको ‘ब्याजदर करिडोर’ को तल्लो सीमाकै हाराहारीमा खुम्चिएका छन् । प्रणालीमा देखिएको यो सहज तरलताको स्थितिका कारण निक्षेप र कर्जा दुवैतर्फको ब्याजदरमा थप गिरावट आएको छ ।

तथ्याङ्कअनुसार, २०८३ वैशाखसम्ममा वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ३.३५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशतमा झरेको छ। यसैगरी, विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदरमा पनि सोही अनुपातको गिरावट देखिएको छ । अन्तरबैंक ब्याजदर र ट्रेजरी बिल्सको ब्याजदर समेत न्यून विन्दुमा रहनुले बजारमा लगानीयोग्य पुँजीको अभाव नरहेको स्पष्ट पार्छ ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निरन्तर खुला बजार कारोबार र ऋणपत्र निष्कासनमार्फत तरलता प्रशोचन गरिरहेको भए पनि अधिक तरलताको प्रभाव ब्याजदरमा स्पष्ट देखिएको छ । यसले कर्जाको माग बढाउन मद्दत पुर्‍याउने देखिए पनि बैंकहरूको नाफा र बचतकर्ताको प्रतिफलमा भने दबाब सिर्जना गरेको छ ।


सम्बन्धित समाचार