२५ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन सुझाव सङ्कलन कार्यदल’ को बैठक आज बस्दैछ । पार्टी केन्द्रीय मुख्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
गत असार १० गते सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले विद्यमान राजनीतिक परिवेश, सांगठनिक अवस्था र निर्वाचनको परिणामलाई मध्यनजर गर्दै पार्टी पुनर्गठन गर्ने ऐतिहासिक निर्णय गरेको थियो । सोही निर्णयबमोजिम पार्टीका आम नेता तथा कार्यकर्ताहरूबाट संगठन सुधार र पुनर्गठनका विषयमा देशव्यापी रूपमा सुझावहरू सङ्कलन गरिएको हो ।
पार्टी पुनर्गठनका लागि कार्यदलले राजधानी विशेष प्रदेश कमिटीसहित सातै भौगोलिक प्रदेश, पार्टीका भ्रातृ एवं जनसङ्गठनहरू, विभिन्न केन्द्रीय विभागहरू, प्रवास कमिटी र सल्लाहकारहरूबाट विस्तृत सुझाव सङ्कलन गरिसकेको छ । सङ्कलित सुझावहरूमा पार्टीको आगामी वैचारिक दिशा, नेतृत्व प्रणाली, युवाहरूको आकर्षण र सांगठनिक संरचनामा गर्नुपर्ने आमूल परिवर्तनका विषयहरू समेटिएको स्रोतले जनाएको छ ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले आजको बैठकमा देशैभरिबाट प्राप्त भएका सुझावहरूको वर्गीकरण र विश्लेषण गर्नेछ। कार्यदलले आजको छलफलपछि प्राप्त सुझावहरूलाई समेटेर एउटा एकीकृत प्रतिवेदन तयार पार्ने गृहकार्य सुरु गर्नेछ ।
कार्यदलले तयार पार्ने सोही प्रतिवेदनका आधारमा एमालेले आगामी केन्द्रीय कमिटी र महाधिवेशनमार्फत पार्टी पुनर्गठनको ठोस खाका र नयाँ सांगठनिक रणनीति तय गर्ने प्रचार विभाग प्रमुख आचार्यले बताए ।



















