Logo

२५ असार, वीरगञ्ज । आज मुलुकभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी दुवै भू-भागमा सरदर स्थानकै आसपास अवस्थित रहेकाले देशैभरि वर्षाको अनुकूल वातावरण बनेको हो ।

यसको प्रभावले अहिले मधेस प्रदेशसहित देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

लामो समयको खडेरी र सुक्खा मौसमका कारण धान रोपाइँ प्रभावित बनेको मधेस प्रदेशका किसानका लागि पछिल्लो मौसम प्रणालीले केही राहत दिने सङ्केत गरेको छ । महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, आज राति मौसममा थप बदलाव आउने र मधेस प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । वर्षाले धान रोपाइँमा सहयोग पुर्‍याउने भए पनि वर्षासँगै आउने चट्याङको जोखिम उच्च रहने भएकाले मधेसका किसान तथा सर्वसाधारणलाई सतर्कता अपनाउन मौसमविद्हरूले विशेष आग्रह गरेका छन् ।

आज दिउँसो पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुनेछ । विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा भने आज दिउँसो तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन  मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।

आज राति देशभरिको आकाश बादलले पूर्ण रूपमा ढाकिनेछ । रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


सम्बन्धित समाचार