२५ असार, वीरगञ्ज । मनसुन क्रमिक रूपमा सक्रिय हुन थाले पनि मुलुकको प्रमुख अन्नभण्डार मानिने मधेस प्रदेशमा यस वर्ष धान रोपाइँले अझै अपेक्षित गति लिन सकेको छैन ।
पर्याप्त र नियमित वर्षा नहुँदा मधेसका किसानहरू अझै पनि आकासे पानीकै प्रतीक्षामा रहन बाध्य छन् । जसका कारण असारको तेस्रो साता (असार १९ गते) सम्म आइपुग्दा प्रदेशको कुल धान खेतीयोग्य क्षेत्रफलको मात्र १४.७३ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ ।
मुख्य सिजन घर्कनै लाग्दा समेत धानको पकेट क्षेत्र मानिने यो क्षेत्रका अधिकांश खेतहरू अझै बाँझै देखिन्छन्। कृषि विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार प्रदेशका आठ जिल्लामा रहेको कुल ३ लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ५९ हजार ८९५ हेक्टर क्षेत्रमा मात्रै धान रोपिएको छ ।
समयमै झरी नपर्दा किसानले महँगो खर्चमा खेत जोतेर तयारी अवस्थामा राखे पनि रोपाइँ अघि बढाउन सकेका छैनन् । निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार जिल्लागत विवरण हेर्दा सबैभन्दा बढी सिरहामा २५ प्रतिशत (१३,५०० हेक्टर) र सप्तरीमा २४ प्रतिशत (१६,३२० हेक्टर) क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
यसैगरी धनुषामा १५ प्रतिशत, बारामा १३ प्रतिशत, महोत्तरीमा १२.३७ प्रतिशत र पर्सामा १२ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सकिएको सरकारी तथ्याङ्क छ । मधेसका पश्चिमी जिल्लाहरूमा अवस्था अझै दयनीय छ; रौतहटमा ८.५ प्रतिशत र सबैभन्दा कम सर्लाहीमा ८ प्रतिशत (३,४१५ हेक्टर) क्षेत्रमा मात्रै धान रोपिएको छ ।
मधेस प्रदेशमा रहेको कुल ५ लाख ५२ हजार ७४५ हेक्टर खेतीयोग्य जमिनमध्ये ठुलो हिस्सा धान खेतीले ओगट्ने भए पनि सिँचाइको अभावमा बर्सेनि किसानले यस्तै सास्ती बेहोर्नुपरेको छ ।
कृषि विज्ञहरूले समयमै धान रोप्न नपाइए उत्पादनमा प्रत्यक्ष ह्रास आउने र यसले देशकै कृषि अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन् । बागवानी विकास अधिकृत विश्वकर्माले आगामी दिनमा मनसुन पूर्ण रूपमा सक्रिय भई नियमित वर्षा भएमा रोपाइँले गति लिने आशा व्यक्त गरे पनि आकाशकै भर पर्ने परम्परागत कूटनीतिले किसान सधैँ मारमा पर्ने गरेका छन् ।
विज्ञहरूले कृषि क्षेत्रका सरोकारवाला निकायलाई उपलब्ध सिँचाइका स्रोतहरूको अधिकतम उपयोग गर्न र किसानलाई आवश्यक प्राविधिक तथा आकस्मिक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।



















