२४ असार,वीरगञ्ज । नेपाली कांग्रेस बाराको कार्यवाहक सभापतिमा मनोज भट्ट नियुक्त भएका छन्। यसअघि जिल्ला सभापति रहेका राजेशराय यादव पार्टीको अनुशासन कारबाहीमा निलम्बन भएपछि भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।
भट्ट यसअघि नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको उपसभापति रहेका थिए। सभापति यादव निलम्बनमा परेपछि पार्टीले उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको हो।
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोपमा यादवसहित बारा जिल्लाका १६ जनाविरुद्ध अनुशासन समितिमा उजुरी परेको थियो।
उक्त उजुरीमाथि छानबिनका क्रममा अनुशासन समितिले यादवसँग स्पष्टीकरण मागेको थियो। पहिलो पटक तोकिएको समयभित्र जवाफ नआएपछि दोस्रो पटक पनि स्पष्टीकरण मागिएको थियो। तर, यादवले समितिलाई कुनै जवाफ नपठाएपछि थप अनुसन्धानका आधारमा अन्तिम निर्णय नआउञ्जेलका लागि उनलाई निलम्बन गरिएको पार्टीले जनाएको छ।



















