२४ असार,वीरगञ्ज ।संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले सडक विकास नै समग्र विकासको मेरुदण्ड भएको बताएका छन्। उनले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गरे।
बुधबार वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा ब्रम्हबाबा मन्दिरदेखि सातोमाई मन्दिर हुँदै मेघराज पासवानको घर र सोहन हजराको घरसम्म निर्माण हुन लागेको सडक ढलान तथा नाला निर्माण योजनाको शिलान्यास गर्दै यादवले यस्तो बताएका हुन्।
उनले लामो समयदेखि आधारभूत पूर्वाधारको अभाव झेल्दै आएको उक्त क्षेत्रमा सडक र नाला निर्माण भएपछि स्थानीयको आवतजावत सहज हुने तथा वर्षायाममा हुने जलजमावको समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले यो आयोजना स्थानीय क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि बन्ने बताए।
यादवका अनुसार पूर्वाधार विकास कार्यालयमार्फत करिब ३५० मिटर लामो र १० फिट चौडा सडक ढलान तथा नाला निर्माणको काम सुरु गरिएको हो। उनले निर्माण कार्य निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए।
सडक र नालाको अभाव झेल्दै आएका स्थानीयवासीले निर्माण कार्य सुरु भएपछि खुसी व्यक्त गरेका छन्।



















