२४ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशंकर यादवले मधेश प्रदेशमा पुनः लोडसेडिङजस्तो अवस्था देखिन थालेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले मधेशका जनताले नियमित रूपमा विद्युत् अवरोधको समस्या भोगिरहेको दाबी गरे।
‘म भर्खरै आज बिहान १० बजे मधेशबाट काठमाडौं आएको हुँ। मधेशका जनताहरूले आज फेरि पनि एक पटक लोडसेडिङ भएको महसुस गरिरहेको अवस्था छ,’ उनले प्रतिनिधिसभामा भने।
उनले मधेश प्रदेशका विभिन्न क्षेत्रमा पटक–पटक बत्ती जाने समस्या दोहोरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। विशेषगरी सिराहा जिल्लामा विद्युत् आपूर्तिमा समस्या रहेको उनको भनाइ थियो।
‘मेरो जिल्ला सिराहामा २८ ठाउँमा ट्रान्सफर्मरको आवश्यकता छ। तर अहिलेसम्म ट्रान्सफर्मर प्रतिस्थापन भएको छैन र बत्ती गइरहेको अवस्था छ,’ उनले भने।
सांसद यादवले सरकारले ट्रान्सफर्मर खरिद तथा विद्युत् समस्या समाधानका लागि आवश्यक पहल गर्न नसकेको हो कि भन्ने प्रश्न उठाउँदै यसबारे संसदलाई जानकारी गराउन माग गरे।
‘के सरकारले ट्रान्सफर्मर किन्न सकेको छैन कि बजेटको अभाव छ ? त्यसबारे सदनलाई जानकारी दिनुपर्छ,’ उनले भने। उनले मधेशमा देखिएको विद्युत् अवरोधको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे।



















