२३ असार, काठमाडौं । सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका सोझा–सिधा बिरामीहरूलाई भ्रममा पारी निजी अस्पतालतर्फ पठाउने १२ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न जिल्लाबाट उपचारका लागि आएका बिरामीहरूलाई प्रतिष्ठानमा राम्रो उपचार नहुने, पालो नपाइने र मेसिन बिग्रिएको जस्ता गलत सूचना दिँदै निजी अस्पतालमा पठाएर कमिसन लिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रतिष्ठानका विभिन्न वार्ड, ओपीडी, इमर्जेन्सी र रेडियोलोजी विभागबाट पक्राउ परेकामध्ये प्रवीण पोखरेल र दीपक रामविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका बिचौलियाहरूबाट विभिन्न निजी अस्पतालका भिजिटिङ कार्ड, बिरामीका प्रेस्क्रिप्सन र डिस्चार्जका कागजात तथा एम्बुलेन्स चालकहरूको सम्पर्क नम्बरसमेत बरामद गरेको छ, जसले उनीहरू एक संगठित गिरोहका रूपमा सक्रिय रहेको पुष्टि गर्दछ । कोशी र मधेश प्रदेशबाट दैनिक ४ हजारभन्दा बढी बिरामी आउने यस प्रतिष्ठानमा करिब ५० जनाभन्दा बढी बिचौलिया सक्रिय रहेको स्रोतको दाबी छ ।
बिचौलियाहरूको यो सञ्जालले बिरामीलाई झुक्याएर कमिसनका लागि निजी संस्थामा पठाउँदा प्रतिष्ठानको राजस्वमा समेत असर परेको छ । यस सञ्जाललाई पूर्ण रूपमा निस्तेज पार्न सके प्रतिष्ठानको दैनिक आयमा थप ३ लाख रुपैयाँ वृद्धि हुन सक्ने देखिएको छ ।



















