Logo

२४ असार,वीरगञ्ज । डिभिजन वन कार्यालय बाराले विशेष अपरेशन सञ्चालन गरी कोल्हबी नगरपालिका–५ सखुवा गाउँबाट अवैध रूपमा लुकाइछिपाइ राखिएको सालको काठ बरामद गरेको छ।

कोल्हबी सब–डिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको नेतृत्वमा खटिएको टोलीले एक घरमा छापा मारेर करिब २० क्युफिट बराबरका चार थान सालका गोलिया काठ बरामद गरेको हो।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झाले दिउँसो करिब २ बजेदेखि सुरु भएको अपरेशन करिब एक घण्टासम्म सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा काठ फेला परेको हो।

बरामद गरिएको काठका मालिक भनिएका व्यक्ति भने घटनास्थलबाट फरार रहेकाले पक्राउ पर्न सकेका छैनन्। घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ।

अपरेशनका क्रममा वन कार्यालयको टोली र केही स्थानीयबीच केहीबेर सामान्य तछाडमछाडको अवस्था सिर्जना भए पनि कुनै अप्रिय घटना भने नभएको कार्यालयले जनाएको छ। बरामद गरिएको काठ डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको छ।

उक्त अपरेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समेत सहयोग गरेका थिए। डिभिजन वन कार्यालय बाराले अवैध काठ तस्करी तथा वन पैदावारको गैरकानुनी कारोबार नियन्त्रण गर्न यस्ता विशेष अपरेशनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


सम्बन्धित समाचार