२४ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको आपूर्ति अवरुद्ध भएपछि उत्पन्न खानेपानी संकटलाई सम्बोधन गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वैकल्पिक स्रोतको खोजी गर्दै शिवपुरीस्थित बागमती नदीको पानीलाई उपत्यकामा थप गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।
करिब ५–६ वर्षदेखि विभिन्न प्राविधिक तथा वातावरणीय कारणले रोकिएको यो योजनालाई केयूकेएलले हाल ‘फास्ट ट्र्याक’ मा अघि बढाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण कार्य सुरु भइसकेको छ, जसअन्तर्गत बागमतीको विद्यमान आपूर्तिमा २० इन्चको नयाँ पाइपलाइन थपिनेछ ।
केयूकेएलका कार्यकारी निर्देशक रामरतन साहका अनुसार, आगामी तीन सातादेखि एक महिनाभित्र यो कार्य सम्पन्न गरी उपत्यकामा थप ४ देखि ५ करोड लिटर पानी दैनिक आपूर्ति गर्ने लक्ष्य लिइएको छ । यसबाट विशेष गरी चक्रपथभित्र मेलम्चीको पानीबाट वञ्चित क्षेत्रका उपभोक्तालाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
पूर्वाधार विकास समितिको बैठकमा यो योजनाको प्रगतिबारे जानकारी गराउँदै निर्देशक साहले पाइपलाइन विस्तारका लागि आवश्यक सामग्रीको व्यवस्थापन र बक्यौता असुलीको प्रक्रियालाई समेत तीव्र पारिएको स्पष्ट पारेका छन् । विकास निर्माणका काममा सडक खन्ने क्रममा स्थानीय तहसँग समन्वय गरी काम अघि बढाउने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।



















