२५ असार, वीरगञ्ज । बलिउड अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतीक्षित कमेडी–एक्सन फिल्म ‘वेलकम टु द जंगल’ ले प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा बक्स अफिसमा सशक्त प्रदर्शन गरिरहेको छ। भारतमा मात्रै फिल्मले १३ दिनमा १२२.९० करोड भारतीय रुपैयाँ (नेट) कमाउन सफल भएको छ भने विश्वव्यापी ग्रस कलेक्सन १८० करोड रुपैयाँभन्दा माथि पुगेको छ।
अहमद खानको निर्देशनमा बनेको यो फिल्म लोकप्रिय ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो श्रृंखला हो। फिल्ममा अक्षय कुमारसँगै सुनील शेट्टी, परेश रावल, अर्शद वार्सी, ज्याकी श्रफ, राजपाल यादव, जोनी लिभर, तुषार कपूर, रवीना टन्डन, लारा दत्ता, ज्याकलिन फर्नान्डिज, दिशा पटानी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।
ठूलो कलाकार टोली, हास्यप्रधान कथा, एक्सन र मनोरञ्जनको संयोजनका कारण फिल्मले पारिवारिक दर्शकलाई हलसम्म तान्न सफल भएको विश्लेषण गरिएको छ। प्रारम्भिक केही दिन आक्रामक कमाइ गरेको फिल्मले दोस्रो सातामा पनि स्थिर व्यापार कायम राखेको छ।
फिल्मले भारतसँगै अमेरिका, बेलायत, अष्ट्रेलिया, न्यूजिल्यान्ड, मध्यपूर्व लगायतका अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो व्यापार गरिरहेको छ। विदेशी बजारको कमाइले विश्वव्यापी कलेक्सनलाई १८० करोड रुपैयाँभन्दा माथि पुर्याएको हो।
नेपालमा पनि फिल्मले काठमाडौं, पोखरा, विराटनगर, बुटवल, चितवन, वीरगञ्जलगायत प्रमुख शहरका मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरूमा राम्रो दर्शक उपस्थिति जनाएको बताइएको छ।
यसैबीच, फिल्मको सफलतापछि निर्देशक अहमद खान ले ‘वेलकम’ फ्रेन्चाइजलाई निरन्तरता दिँदै ‘Welcome 4’ निर्माणको तयारी भइरहेको संकेत दिएका छन्।
‘वेलकम टु द जंगल’ले दोस्रो सातासम्म पनि बक्स अफिसमा बलियो पकड कायम राखेकाले आगामी दिनमा यसको विश्वव्यापी कमाइ अझ बढ्ने अनुमान गरिएको छ।



















