२६ असार, काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
बिहीबार दिउँसो विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले आफ्नै शरीरमा आगो लगाएका हुन्। घटनापछि तत्कालै उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार घटनामा घाइते भएका ती व्यक्तिको नाम र ठेगाना हालसम्म खुल्न सकेको छैन । उनको स्वास्थ्य अवस्था र आत्मदाहको प्रयास गर्नु पछाडिको मुख्य कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
व्यस्त सार्वजनिक स्थलमा भएको यस दर्दनाक घटनाले राहदानी विभाग वरपर केही समय तनाव सिर्जना गरेको थियो। प्रहरीले उक्त घटनाको थप विवरण आउन बाँकी रहेको जनाएको छ ।



















