२५ असार, काठमाडौँ । नेकपा (एमाले) भित्र पार्टी रूपान्तरण र पुनःसंरचनाको माग गर्दै युवाहरूद्वारा सञ्चालित ‘पुनर्जागरण अभियान–२०८२’ को मत सर्वेक्षण नतिजा सार्वजनिक भएको छ ।
असार १२ देखि २२ गतेसम्म गुगल फर्ममार्फत गरिएको उक्त सर्वेक्षणमा पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतान्त्रीकरणका विषयमा कार्यकर्ता तथा शुभेच्छुकहरूको राय लिइएको थियो । सर्वेक्षणमा सहभागीहरूले पार्टीको विद्यमान कार्यशैली र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै व्यापक परिवर्तनको आवश्यकता औँल्याएका छन् ।
सर्वेक्षणको नतिजाअनुसार ९१.४ प्रतिशत सहभागीले पार्टीको विद्यमान अवस्था अघि बढ्न नसक्ने भन्दै रूपान्तरणको पक्षमा मतदान गरेका छन् । त्यस्तै, वर्तमान नेतृत्वको व्यवहार र कार्यशैली सुध्रिनुपर्ने पक्षमा क्रमशः ९५.४ प्रतिशत र ९४.९ प्रतिशतको अभिमत रहेको छ । सबैभन्दा महत्त्वपूर्ण रूपमा ८७.६ प्रतिशत सहभागीले एमालेको नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिएका छन्, जबकि १०.५ प्रतिशतले मात्र हालको नेतृत्व यथावत् रहनुपर्ने धारणा राखेका छन् ।
देशभरका साथै विदेशका १४ राष्ट्रमा रहेका एमालेका संगठित सदस्य, समर्थक तथा शुभेच्छुकहरूको सहभागिता रहेको यस सर्वेक्षणमा ४० देखि ६० वर्ष उमेर समूहका ४३.७ प्रतिशत सहभागी थिए । सहभागीहरूमध्ये ८२.९ प्रतिशतले नेतृत्व चयन प्रक्रियामा सम्पूर्ण संगठित सदस्यको मत लिने व्यवस्था गर्नुपर्ने र ८२.८ प्रतिशतले एउटै पदमा बढीमा दुई पटक मात्र जिम्मेवारी लिन पाउने व्यवस्था गर्नुपर्ने पक्षमा राय दिएका छन् ।
यसका साथै, पार्टी पुनर्संरचनाका लागि ४७.७ प्रतिशतले विशेष महाधिवेशनको आवश्यकता औँल्याएका छन् । नेतृत्व हस्तान्तरणको सवालमा ५०.२ प्रतिशतले केन्द्रीय कमिटीभित्रबाटै नेतृत्व खोजिनुपर्ने बताएका छन् भने २६.४ प्रतिशतले केन्द्रीय कमिटीभन्दा बाहिरबाट नेतृत्व ल्याउनुपर्ने धारणा राखेका छन् । अभियानकर्ताहरूले संकलित सुझावसहितको प्रतिवेदन बिहीबार एमाले महासचिव शंकर पोखरेललाई बुझाएका छन् ।



















