Logo

२५ असार, काठमाडौं । नेकपा (एमाले) ले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो प्रतिवेदनको १७७ नम्बर बुँदामा गरेको सिफारिसप्रति कडा आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गरेको छ ।

एमाले नेता महेश बर्तौलाले बिहीबार आयोगको कार्यालय पुगेर अध्यक्ष तपबहादुर मगरलाई भेट्दै पार्टीका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा आयोगको उक्त बुँदा संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको उल्लेख गरिएको छ । यसअघि नै आयोगसँग माग गरिएका कागजातहरू पूर्ण रूपमा उपलब्ध नगराइएकोमा समेत एमालेले असन्तुष्टि व्यक्त गरेको छ ।

नेता बर्तौलाले उक्त घटना छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिको प्रतिवेदन, आयोगले प्रतिवेदनमा गरेको थपघटसम्बन्धी निर्णयको आधार र सोसँग सम्बन्धित सम्पूर्ण कागजातहरूको प्रमाणित प्रतिलिपि तत्काल उपलब्ध गराउन पुनः माग गरेका छन् । आयोगले उक्त बुँदामा कानुन बनाएर कारबाही गर्न सिफारिस गरेको थियो, जसलाई एमालेले त्रुटिपूर्ण ठहर्‍याएको छ ।


सम्बन्धित समाचार
भर्खरै