Logo

२५ असार, काठमाडौं । सरकारले सरकारी कर्मचारीका लागि लागू गरेको ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ मार्फत कार्यालयीय गतिविधिसँग सम्बन्धित फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्न कडाइ गरेको छ।

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई असार २२ गतेदेखि लागू भएको आचारसंहिताअनुसार कर्मचारीहरूले कार्यालय समय, कार्यालय परिसर वा सरकारी कामका क्रममा फिल्डमा रहँदा कार्यालय पोसाकमा खिचिएका फोटो वा भिडियो फेसबुक, टिकटक, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पोस्ट गर्न पाउने छैनन्। आधिकारिक सूचना वा शिक्षामूलक प्रयोजनबाहेक यस्ता सामग्री सार्वजनिक गर्न रोक लगाइएको छ।

आचारसंहितामा सरकारी कामसँग सम्बन्धित गोप्य सूचना, कागजात, संवेदनशील विवरण तथा कार्यालयीय गतिविधि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न नहुने उल्लेख गरिएको छ। साथै सरकारी छाप, लोगो, इमेल, सूचना प्रणाली तथा अन्य सरकारी स्रोत-साधनको दुरुपयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

सरकारले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण सरकारी सेवाको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामा असर पर्न सक्ने भन्दै कर्मचारीको डिजिटल आचरणलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

आचारसंहिताको उद्देश्य कर्मचारीलाई जिम्मेवार, अनुशासित र मर्यादित बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको मन्त्रालयले जनाएको छ। आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने व्यवस्था पनि गरिएको छ।

यसअघि सामाजिक सञ्जालमा कार्यालयभित्र खिचिएका फोटो तथा भिडियो व्यापक रूपमा सार्वजनिक हुने क्रम बढेपछि सरकारी गोपनीयता, सेवाग्राहीको निजता तथा कार्यालयको मर्यादामाथि प्रश्न उठ्दै आएको थियो। नयाँ आचारसंहिताले यस्ता गतिविधिलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै