Logo

२५ असार,वीरगञ्ज । बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार बिहानदेखि सुरु गरेको आन्दोलन वार्तापछि स्थगित भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत तथा आन्दोलनरत कर्मचारीबीच भएको छलफलमा सहमति जुटेपछि कर्मचारीहरू काममा फर्किएका छन् भने महानगरपालिकाका नियमित सेवा पुनः सञ्चालनमा आएका छन्।

स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थित वीरगञ्ज महानगर एकाइ समितिका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको बाँकी तलब तत्काल उपलब्ध गराउन माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनका कारण महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज केही समय प्रभावित बनेको थियो।

वार्तापछि तत्कालका लागि जेठ महिनाको तलब भुक्तानी गर्ने सहमति भएको कर्मचारी पक्षले जनाएको छ। बाँकी दायित्व पनि चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरिएको हो।

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले कर्मचारीका जायज मागप्रति महानगरपालिका सकारात्मक रहेको बताउँदै समस्या संवाद र सहमतिबाट समाधान गरिएको बताए। उनले आन्दोलनका कारण सर्वसाधारणले सेवा लिन कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले तत्काल छलफल गरी सहमति गरिएको उल्लेख गरे।

महानगरपालिकाका अनुसार पछिल्लो समय आन्तरिक आर्थिक व्यवस्थापनमा देखिएका चुनौतीका कारण कर्मचारीहरूको तलब भुक्तानी प्रभावित भएको थियो। आर्थिक अवस्था सुधारसँगै रोकिएको तलब क्रमशः भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ।

यसअघि आर्थिक वर्षको अन्तिम दिन तलब भुक्तानीको माग गर्दै कर्मचारीहरूले लेखा शाखामा तालाबन्दीसमेत गरेका थिए। त्यसयता महानगर नेतृत्व, प्रशासन र कर्मचारीबीच निरन्तर संवाद चलिरहेको थियो।

बिहीबार भएको सहमतिसँगै आन्दोलन स्थगित भएपछि वीरगञ्ज महानगरपालिकाका प्रशासनिक सेवा, राजस्व, सिफारिस, दर्ता तथा अन्य दैनिक सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।


सम्बन्धित समाचार
भर्खरै