२५ असार,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजयकुमार पाण्डेयसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
आयोगका अनुसार पाण्डेयसँगै पोखरिया नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका–१० निवासी महेन्द्र राउतकुर्मीलाई पनि प्रतिवादी बनाइएको छ।
आयोगले तीनै जनाविरुद्ध जनही १ लाख ९१ हजार ५२० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ।
नगरपालिकाका कर्मचारीले सरकारी अभिलेख सच्याएर अपाङ्गता परिचयपत्र वितरण गरेको तथा त्यसक्रममा सरकारी रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानबाट सरकारी कागजातमा हेरफेर गरी अनियमितता गरिएको देखिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।



















