Logo

२९ असार, काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि काठमाडौँ जिल्ला अदालतले आज (असार २९ गते) का लागि छुट्टै पेसी तोकेको छ ।

यसअघि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका आरोपितहरूलाई यस प्रकरणमा कसुरदार ठहर गरेको थियो । नेपालको फौजदारी कानुनमा रहेको विशेष व्यवस्थाबमोजिम अदालतले सजाय तोक्नका लागि आजको दिन निश्चित गरेको हो ।

नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार ३ वर्षभन्दा बढी कैद सजाय हुन सक्ने गम्भीर प्रकृतिका मुद्दाहरूमा कसुर प्रमाणित भइसकेपछि सजाय तोक्नका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी प्रावधान छ ।

सोही व्यवस्थाअनुसार कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारण गर्नुपर्ने हुँदा अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानुन व्यवसायीहरूलाई समेत जानकारी गराई आवश्यक प्रक्रिया अघि बढाएको हो ।

यसका लागि सजायपूर्वको प्रतिवेदन र अन्य प्राविधिक तयारीहरू पूरा गर्न अदालतले यसअघि नै आदेश दिइसकेको थियो । यस हाइप्रोफाइल प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलाई मुख्य कसुरदारका रूपमा दोषी ठहर गरिएको छ ।

त्यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका अन्य प्रतिवादीहरूलाई भने मतियारको भूमिकामा दोषी पाइएको छ । आज बस्ने विशेष इजलासको सुनुवाइपछि यी हाइप्रोफाइल दोषीहरूले कति वर्ष जेल सजाय र कति जरिवाना भोग्नुपर्ने हो भन्ने कुराको अन्तिम फैसला आउनेछ ।


सम्बन्धित समाचार